थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा भक्तिनिया अस्थान तीर्थ माघी मेला लाग्ने भएको छ । माघ १ गते देखि ६ गते सम्म चल्ने मेलामा थारु संस्कृति झल्किने भेसभुसा, कला, साहित्य र पौराणिक नाचहरू देखाइने छ ।
संस्कृति संरक्षण सँगै पुस्ता हस्तान्तरण लागि पहिलो पटक मागी मेला आयोजना गर्न लागिएको आयोजक राम जानकी सेवा समाजका अध्यक्ष राज कठरियाले बताए । “बर्दगोरिया धाममा पनि ठुलै मेला लाग्छ । त्यहाँ व्यापारी पनि आएका हुन्छन् । तिनै व्यापारीलाई यो मेलामा पनि ल्याउने गरि हामीले तयारी गरेका हौ । अर्को कुरा हामी थारु गाउँ र प्रदर्शनी समेत राख्ने छौ ।” उनले भने ।
संस्कृति संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए । “माघी मेलामा दफ, धमार, सजना, होरी नाच जस्ता पौराणिक नाचहरू प्रदर्शन हुनेछ । थारु परिकार सँगै भेसभुसा सहितको छुट्टै थारु गाउँ पनि राखिने छ । हरियाली सँगै राम जानकी मन्दिर, झोलुङ्गे पुल, वनभोज स्थल लगायतले पनि पर्यटनको सम्भावना बोकेको छ । संस्कृति संरक्षण सँगै पर्यटन विकास र प्रचारप्रसारका लागि मेला महत्त्वपूर्ण हुने छ ।” उनले भने ।
मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका कृषि मन्त्री रामेश्वर चौधरी र वन मन्त्री रमेश धामीले गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित :- २०८० पुष १०, गते मंगलवार