सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा १२ वटा घर निर्माण गरिएका छन् । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारको लागत साझेदारीमा बर्दगोरिया गाउँपालिका वडा नम्बर-४ दानुवाफाटामा मुक्त कमैयाका घरहरू निर्माण गरिएका हुन ।
निर्माण गरिएका घरको बुधवार एक कार्यक्रमका बिच सामाजिक लेखा परीक्षण समेत गरिएको छ । यो बस्तीका १२ घर निर्माणका लागि ८० लाख ९४ हजार ५ सय ९४ रुपैयाँ खर्च गरिएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार ३ सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार २ सय ६२ खर्च गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपैयाँ लागत लागेको लेखा परीक्षण मार्फत सार्वजनिक गरिएको छ ।
दानुवाफाटाका भलमन्सा मसुरा डगौरा थारुको अध्यक्षतामा सम्पन्न सामाजिक लेखा परीक्षण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित नेटवर्क अध्यक्ष मोहन ओड रहेका थिए । यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका कार्यपालिका सदस्य सरस्वती बि.क., ह्याबिट्याट फर ह्युमिनिटीका दानुवाफाटा सामुदायिक वनका अध्यक्ष टेकराज जोशी लगायतको उपस्थित रहेको थियो ।
४२ घर धुरी रहेको यो मुक्त कमैया बस्तीमा अब ३० घर बन्न बाकी छन् । उनीहरूको घर समेत निर्माण गर्न स्थानीय पालिका, सरोकारवाला संस्था र प्रदेश सरकार बिच समन्वय भइरहेको बताइएको छ ।