कैलालीको घोडाघोडी नगरपालिकाले वितरण गर्ने अनुदान प्रभावकारी बनाउन स्थलगत अनुगमन गरेको छ । नगर प्रमुख खडक रावत सहितको टोलीले आइतबार पालिकाको पशु शाखा मार्फत वितरण गरिने अनुदानका लागि आवेदन दिएकाहरूको घरमै पुगेर अनुगमन गरेका हुन ।
नगरपालिकाले यस अघि खोर सुधार कार्यक्रम तथा डेरी र मासु पसल सुधार कार्यक्रमको लागी निवेदन खोलेको थियो । अनुदान वितरणको पूर्व सन्ध्यामा आवेदकहरूको फार्म, डेरी तथा मासु पसलको अवस्था बुझ्न र अनुदानलाई प्रभावकारी बनाउन अनुगमन गरिएको नगर प्रमुख रावतले बताए । “धेरैले कागज मिलान गरेर सरकारी अनुदान खाने प्रचलन बढेको छ । यसले गर्दा सरकारको लगानी वास्तविक व्यक्ति, समूह, वर्ग सम्म नपुग्ने र प्रभावकारी नहुने देखिन्छ । त्यसलाई निरुत्साहित गर्न हामी अनुगमनमा निस्किएका हौँ ।” उनले भने ।
नगरपालिकामा खोर सुधार कार्यक्रमको लागी २६ र डेरी तथा मासु पसल सुधार कार्यक्रमको लागी ४ वटा आवेदन परेका छन् । त्यस मध्ये खोर सुधारका लागि २० फर्मले ५० हजारका दरले अनुदान पाउने छन् । यस्तै डेरी तथा मासु पसल सुधार कार्यक्रमको लागी प्राप्त ४ आवेदन मध्ये ३ वटाले १ लाखका दरले अनुदान पाउने जनाइएको छ ।
प्रकाशित :- २०८० माघ १४, गते आईतवार