
जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशविरुद्ध पहिलो दिनको खेलमा त्रिभुवन आर्मी क्लबले २ सय २५ रन बनाएको छ ।


वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा आर्मीले ५९ ओभर ३ बलमा ९ विकेटको क्षतिमा २ सय २५ रन बनाएको हो । उसले अन्तिम ३ बल बाँकी रहँदा इनिङ्स डिक्लेर गरेको छ ।
आर्मीका लागि भीम सार्की र बसिर अहमदले अर्धशतकीय पारी खेले । भीमले ९३ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए भने बसिरले ९८ बलमा ७ चौका प्रहार गर्दै ६७ रनको योगदान गरे ।

ओपनर इमरान शेखले ४२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । उनले १६ ओभर ३ बलमा ४४ रन खर्चे । सो क्रममा उनले ३ ओभर मेडन फाले ।

उनले २० ओभर ५ बलमा इमरान शेख, २८.३ ओभरमा विवेक यादव, ५३.४ ओभरमा भीम सार्की, ५७.४ ओभरमा सोमपाल कामी र ५९.३ ओभरमा सोमपाल कामीलाई आउट गरे ।

प्रदिप पासवानले २ तथा हरिशङ्कर साह र अभिषेक तिवारीले १ विकेट लिए ।

अहिले मधेसले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अववस्थमा मधेसले ३.३ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा ७ रन बनाएर खेली रहेको छ । उसका शैलेन्द्र शाह शून्य रनमा पभेलियन फर्किए ।