कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालक समितिको आगामी पुस ९ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण न्युरेको माहोल बलियो बन्दै गएको छ।
शनिबार सम्पन्न मनोनयन दर्तापछि लक्ष्मण न्युरे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका छ जना सदस्य निर्विरोध निर्वाचित भएपछि क्याम्पस निर्वाचनको वातावरण न्युरे प्यानलतर्फ देखिएको हो। निर्वाचन प्रक्रिया सुरु नहुँदै आधा दर्जन उम्मेदवार निर्विरोध निर्वाचित हुनु यो प्यानलप्रति शिक्षाप्रेमी, अभिभावक र सरोकारवालाहरूको बलियो समर्थन रहेको संकेतका रूपमा हेरिएको छ।
निर्विरोध निर्वाचित हुनेमा दलित/जनजाति/आदिवासी समूहबाट जगतबहादुर विश्वकर्मा र अमन चौधरी, खुला सदस्यतर्फ जनक जोशी र सीता कुमारी चौधरी रहेका छन्। यस्तै लेखा परीक्षण टोलीको सदस्यमा खेम ढुंगाना र चक्रबहादुर बम लक्ष्मण न्युरे प्यानलबाट निर्विरोध निर्वाचित भएका हुन्।
अब पुस ९ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि लक्ष्मण न्युरे, उपाध्यक्षमा आयुष जोशी तथा लेखा परीक्षण टोलीको संयोजकमा हेमन्त शाही सहितको प्यानल चुनावी मैदानमा छ।
उता प्रतिस्पर्धी प्यानलबाट अध्यक्ष पदमा डबल बहादुर शाह र उपाध्यक्ष पदमा भानुभक्त आचार्य उम्मेदवार रहेका छन्।
निर्वाचनअघि नै छ जना सदस्य निर्विरोध निर्वाचित हुनु, संगठित प्यानलसहित मैदानमा उत्रिनु र क्याम्पसको विकास स्पष्ट एजेन्डा अघि सार्नुका कारण घोडाघोडी बहुमुखी क्याम्पसको आगामी नेतृत्व लक्ष्मण न्युरे प्यानलले सम्हाल्ने सम्भावना बलियो बन्दै गएको देखिन्छ।
न्युरेको माहोल बन्नुमा क्याम्पस स्थापनाकालदेखि नै क्याम्पसको स्थापना वृद्धि विकास र संस्थागत विकासका लागि सामाजिक रुपमा योगदान पुर्याउनु रहेको स्थानीय विशिष्ट सदस्य, आजीवन सदस्य तथा साधारण सदस्यको बुझाइ रहेको छ।


