रौतहट : रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा झडप भएको छ । सोक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा धकेलाधकेल भएको थियो । केही युवाले उच्छृङ्खल गतिविधि गरेपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा ढुङ्गा हानिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका छन् । घटना हिजो साँझ भएको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । प्रहरीले अश्रुग्यास र ब्याक हवाई फायरसम्म ग¥यो ।
नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए ।
ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



