पछिल्लो समय सुदूरपश्चिममा निजी सवारी साधनले यात्रु ओसार्दा सार्वजनिक यातायातका व्यवसायीहरू सङ्कटमा परेका छन् । सोही कुरालाई लिएर व्यवसायीहरूको सार्वजनिक यातायात सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

कैलाली-कञ्चनपुरसहित सात पहाडी जिल्लामा निजी गाडीहरूले यात्रु बोक्दै आएका छन् । रातो नम्बर प्लेटका गाडीहरूले महेन्द्र राजमार्ग, भीमदत्त राजमार्गसहित भित्री सडकहरूमा यात्रु बोक्दै आएका छन् । हालसम्म कैलालीको चिसापानी-कुइने सडक, बौनिया-तल्ला पानी सडक, सुखड-ठूलीगाड सडक, चौमाला-खैराला सडक, स्याउले-हाटखोली लगायत रोडको प्रमिट नभएका क्षेत्रहरूमा निजी गाडी सञ्चालन हुँदै आएका थिए ।
तर, पछिल्ला दिनहरूमा डोर प्रमिट पाएका सहजपुर-विपिनगर सडक, बुडर-जोगबुढा सडक, बुडर-जोरायल लगायत सडकहरूमा समेत ऐन विपरीत निजी गाडीहरूले यात्रु बोक्दै आएका छन् । ऐन विपरीत निजी गाडीहरूले यात्रु बोक्दा पनि ट्राफिक प्रहरी, स्थानीय प्रशासन र सुदूरपश्चिम प्रदेश सरकारले नियमन नगरेको गुनासो यातायात व्यवसायीहरूको छ ।
सार्वजनिक यातायात व्यवसायी रामचन्द्र गिरीले प्रालिहरु सङ्कटमा परेको बताएका हुन् । उनले भने, ‘म बाजुरा संयुक्त व्यवसायीको संयोजक हो । गाडीको सङ्ख्या धेरै छन् । हामीहरूले मर्ज गरेका छौँ । हामी सङ्कटमा छौँ । रातो नम्बरका गाडीहरूले यात्रु बोक्दै छन । रिजबमा लिन पाउने हो । तर, उहाँहरूले बसपार्कबाट यात्रु लिँदै आएका छन् । एक जना यात्रु पनि उहाँहरु लिनुहुन्छ । ट्राफिक र प्रहरीको मिलोमतोमा हुँदैछ ।’
कैलाली-कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सञ्चालनमा हुने सार्वजनिक यातायातहरूले सवारी नपाउने समस्या छ । प्रदेशका अधिकांश सडकमा निजी गाडीहरूले यात्रु बोक्ने गरेकाले सार्वजनिक यातायातका सञ्चालकहरू समस्यामा छन् । धनगढीबाट डडेल्धुरा र बैतडीसम्म पनि विद्युतीय सवारीले यात्रु बोक्न थालेपछि उनीहरूले यात्रु नपाउने समस्या झन बढेको हो ।
मालिका यातायात प्रालिका कोषाध्यक्ष देवेन्द्र शाहले घर-जग्गा बैँकमा राखेर ऋण मार्फत सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायीहरू आर्थिक सङ्कटमा परेको बताए । उनले भने, ‘रातो नम्बर प्लेटका गाडीहरू निजी प्रयोजनका लागि हो । कालो प्लेटको कर पनि धेरै हुन्छ । यातायातमा दर्ता गरेर सरकारले यात्रु बोक्न भनेको छ । तर, नेपाल सरकारको कानुन कार्यान्वयन भएको छैन् । कानुन कागजमा मात्र सीमित भएको छ ।’

राजमार्गहरूमा हुने ट्राफिक प्रहरी र नेपाल प्रहरीले उनीहरूलाई रोक्नुपर्ने माग सार्वजनिक यातायात व्यवसायीहरूको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सापकोटाले पहाडी क्षेत्रमा निजी गाडीहरू बढी सञ्चालनमा रहेको बताए । ‘निजी प्रयोजनका लागि दर्ता भएका गाडीहरूले यात्रु बोक्दै छन् । पिकप गाडीहरू हुन् । उहाँहरूले तीन जना बोक्न पाउने हो । तर, २० जनासम्म यात्रु बोक्दै आउनुभएको छ,’ उनले भने, ‘हामीले सीडीओ पास, ट्राफिक प्रहरी र मुख्यमन्त्रीलाई समेत जानकारी गराएका छौँ । तर, मनोमानी भाडा असुल गर्दा पनि नियमन भएको छैन् ।’

धनगढी बसपार्क, अत्तरिया बसपार्क, सुखड, बौनिया, लम्की क्षेत्रबाट निजी गाडीका सञ्चालकहरूले यात्रु बोक्दै आएको उनले बताए । सुदूरपश्चिमका यातायात व्यवसायीहरू आन्दोलनमा रहेका सापकोटाले बताएका छन् । सुदूरपश्चिम प्रदेशको यातायात बन्द गर्ने चेतावनी यातायात व्यवसायीहरूको छ ।

