
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-६ स्थित सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी एक महिलाको जबरजस्ती करणीपछि हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।


डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका-२ की मुस्कान भन्ने बिमा थापामगरको शव २०८० मङ्सिर ६ गते सरस्वती सामुदायिक वनमा फेला परेको थियो । धनगढी उपमहानगरपालिका-४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागूऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको ११ महिनापछि मुख्य दोषी देखिएका अभियुक्त धनगढी-५ का ३० वर्षीय संजिव चौधरीलाई हिजो (शनिबार) राती पक्राउ गरेको जनाएको छ । फरार चौधरी भारतमा लुकी छिपी बसेकोमा प्रहरीले यही असोज ५ गते नेपाल भारत सिमानाका त्रिनगरबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रहेका धनगढी ५ का ३० वर्षीय जनक देउवालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
के भएको थियो घटना ?
जनक देउवाको घरमा २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापामगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका-५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले लागूऔषध सेवन गर्दै पालै पालो शारीरिक सम्बन्ध राखेको खुलेको छ । प्रहरीको अनुसन्धान अनुसार उनीहरूको कुटपिटबाट थापामगर बेहोस भएकी थिइन् । बेहोस थापा मगरलाई देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा लगेर फालेका थिए । उनीहरूले लागूऔषध सेवन गरेर मृत्यु भएको भनी देखाउन लागूऔषधका पाकेटसमेत शव फालेको स्थानमा छोडेको अनुसन्धानमा खुलेको हो।

सामुदायिक वनमा शव फेला परेकी मगरको फोन नभेटिएपछि घटना मोडिएको थियो । उनीसँग फोन रहेको साथीमार्फत प्रहरीमा सूचना आएको थियो । लामो समयसम्म प्रयोगमा नआएको उक्त फोनमा २ वटा सिम पछि मात्र प्रयोग भएपछि प्रहरीले घटनामा नयाँ अनुसन्धान थालेको थियो । प्रहरीले फोनको आइएमइआइ विवरणको अनुसन्धानबाट धनगढी ५ को कृष्णबहादुर चौधरीको नाममा रहेका सिमहरू उक्त फोनमा प्रयोग हुँदै आएको पाइएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । संजीव चौधरीकी श्रीमतीसँग फोन फेला परेको प्रहरीले बताएको जानकारी दिएको छ । संजीव भारत फरार भएका थिए । तर, उनी २०८१ असोज ५ गते त्रिनगर सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । श्रीमतीलाई समेत भारत लैजान भनी आएका चौधरीलाई कैलाली प्रहरीले सीमा क्षेत्रबाटै पक्राउ गरेको जनाएको छ । उनी पक्राउ परेपछि मुख्य योजनाकार र घटनामा मुख्य आरोपित देउवाको विषयमा खुलेको थियो।

त्यसपछि देउवालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतीय प्रहरीको सहयोगमा चौधरीलाई नियन्त्रणमा लिएपछि देउवा घरबाट पक्राउ परेका हुन् । उनीहरूलाई आइतबार कैलाली प्रहरीले सार्वजनिक गरेको छ । उनीहरूको विरुद्धमा कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । देउवा, चौधरी र मगर तीनै जना लागूऔषध सेवनकर्ता रहेको पनि प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।


