
कैलालीको घोडाघोडीमा विजया दशमीको अवसर पारी वडा स्तरीय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । घोडाघोडी नगरपालिका वडा नं.५, देवकलियामा देवकलिया फुटबल एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।


उक्त खुल्ला फुटबल प्रतियोगितामा वडा नं.५, भित्रका टोल तथा युवा क्लबहरूले आफ्नो टोलीहरुलाई सहभागि गराउन सक्ने जनाइएको छ । नक आउट चरणका आधारमा खेलाइने फुटबल प्रतियोगिता यही असोज २३ गते देखि सुरु हुन लागेको आयोजकले बताएको हो । खेल राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाको खेल मैदानमा हुने भएको छ । दक्ष खेलाडी उत्पादन गर्दै देवकलियालाई खेलकुदको हबको रुपमा विकास गर्न प्रतियोगिताले सहयोग गर्ने एकेडेमीका प्रशिक्षक अनिल धामीले जानकारी दिएका छन् ।
प्रतियोगितामा विजेता टोलीले १० हजार नगद सहित मेडल र ट्रफी प्राप्त गर्दा उपविजेता हुने टोलीले ६ हजार नगद सहित मेडल र ट्रफीमा चित्त बुझाउनु पर्ने बताइएको छ ।




