सुखड: भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले ४ रनको सनसनीपूर्ण रोमान्चक जित हात पारेको छ ।
दिल्लीले दिएको २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाउँदा मिलरले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे ।
यस्तै ओपनर ऋद्धिमान साहले ३९, साइ किशोरेले १३ र रसिद खानले अविजित २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङ तर्फ दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रनकाे विशाल आँकडा तयार गर्यो ।
४३ बल खेलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा अविजित ८८ रनकाे पारी खेले । यस्तै ट्रिस्टन स्टुब्सले पनि अविजित २६ रन जोडे । अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रनकाे पारी खेल्दै आउट भएका थिए ।
त्यस्तै ओपनर पृथ्वी शाहले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे ।
गुजरातका सन्दीप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट तथा नुर अहमदले १ विकेट लिए ।
समान ९ खेलमा ८ अङ्क जोडेकाे दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अङ्क रहेको छ ।
आईपीएलमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ । बेङ्गलोरले जारी संस्करणमा एक मात्रै खेल जितेको छ । उ अङ्क तालिकाको पुछारमा रहेको छ । हैदराबाद भने आफूले खेलेका ७ मध्ये ५ खेलमा जित हासिल गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । जारी आईपीएलमा हैदराबाद उपाधि दाबेदार मध्येको एक बलियो टोली हो । उसले जारी संस्करणमा अनेक कीर्तिमान समेत बनाई सकेको छ ।