कैलालीको घोडाघोडी नगरपालिकाबाट ३०.७५ क्यु फिट चिरान काठ र ८३ क्यु फिट गोलिया सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाको वडा नम्बर ८ का दोर्जे शाही रहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
उनले पालिकाको वडा नम्बर ८ आम फाटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योग भित्रबाट काँचो सालका ९ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरा शनिवार नियन्त्रणमा लिएको छ । उनले शुक्रवार राती लठुवा सामुदायिक वनबाट उक्त परिमाणका काठहरू ल्याएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी उनको फर्निचर उद्योगमा पुगेको थियो । तर शाहीले वन कार्यालयलाई मोटो रकम बुझाउने गरेको भन्दै कसैले पनि छापा हान्न नसक्ने बताए पछि प्रहरीले डिभिजन वनलाई यसबारेमा जानकारी गराएको थियो ।
पक्राउ परेका शाहीलाई जिल्ला चलान गरिएको छ । उनलाई वन ऐन २०७६ अनुसार कारबाही हुने डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताएका छन् । उनको नाममा फर्निचर दर्ता गरेको भए पनि त्यहाँ काठको गोलिया र चिरान काठको कारोबार बाहेक फर्निचरका काम नहुने गरेको डिभिजन कार्यालय कै दाबी छ । उनले नाम चलेका ठुलै नेताहरूको संरक्षणमा निर्बाध काठको कारोबार गर्दै आएको स्थानीयहरूको समेत आरोप छ ।




प्रकाशित :- २०८० आश्विन २०, गते शनिबार