
नेपाल प्रहरीले कैलाली र बतैडीका विभिन्न स्थानबाट भन्सार छली ल्याएका सामान बरामद गरेको छ ।


शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली र त्यस मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको सामान बरामद गरेको हो । प्रहरीले भन्सार छली ल्याएका अन्दाजी ९ लाख ११ हजार १ सय १० मूल्य बराबरको अवैध सामानहरू फेला पारेको जनाएको छ ।
प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिकाबाट अनुमानित ५ लाख ५ हजार ७ सय ८० मूल्य बराबरको किराना सामान, तामा पित्तलका भाँडाकुँडाका, मिक्सचरको सामान, मिठाई, प्याज र प्लास्टिक फेला पारेको थियो ।

यस्तै भजनी नगरपालिकाबाट २ लाख ३० हजार मूल्य बराबरको प्याज र चिनी, त्यसैगरी टीकापुर नगरपालिकाबाट १ लाख ३२ हजार ७ सय ३० मूल्य बराबरको किरानाका सामान, प्लास्टिक खेलौना, श्रृङगारका सामानहरू, चिनी र प्याज बरामद गरेको जनाएको छ ।

प्रहरीले जिल्लाकै गोदावरी नगरपालिकाबाट अन्दाजी २६ हजार ६ सय र कैलारी गाउँपालिकाबाट अन्दाजी १६ हजार मूल्य बराबरको बोइलर कुखुरा बरामद गरेको जनाएको छ ।
बरामद गरिएका सामानहरू फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य
भइरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरि शुक्रबार नै प्रहरीले बैतडीबाट पनि भन्सार छलीका सामानहरू बरामद गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका-१० आधार पिण्ड स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २५ हजार १ सय ५७ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
