सुखड: एसीसी मेन्स प्रिमियर कप क्रिकेटकाे दोस्रो संस्करणको सेमिफाइनलका खेल आज हुने भएका छन् ।
जसमा पहिलो खेल नेपाल र यूएई बीच दिउँसो पौने १२ बजे हुँदा दोस्रो खेल खेल ओमान र हङकङ बीच पौने चार बजे हुने छ ।
समूह ‘ए’ मा अपराजित यात्रा कायम गर्दै समूह विजेताकाे रूपमा सेमिफाइनल प्रवेश नेपाली टोली समूह ‘बी’ बाट चार मध्ये तीन खेलमा जित हात पार्दै समूह उपविजेताकाे रूपमा सेमिफाइनल प्रवेश गरेको यूएईलाई पराजित गर्दै फाइनलकाे यात्रा तय गर्ने दाउमा रहेको छ । नेपाल एसीसी प्रिमियर कपकाे साविक विजेता टोली समेत हो भने यूएई उपविजेता टोली हो ।
आज पनि यूएईलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्ने धुनमा नेपाली टोली रहेको छ तर जारी प्रतियोगितामा यूएई पनि कमजोर छैन् । यसलाई पनि उपाधि दाबेदार टोलीको रूपमा हेरिएको छ । त्यसकारण आज नेपाललाई निकै ठुलो चुनौती समेत रहेको छ ।
फाइनलको यात्रा तय गर्न नेपालले थप रणनितीक हिसाबले मैदान उत्रिनु पर्ने देखिएको छ । यूएईका मोहमद वासिम, अलिशान शराफु,आशिफ खान, लगायतका ब्याट्सम्यान निकै लयमा रहेका छन् । जसले नेपालको बलिङ लाइन नै धराशायी बनाई दिन सक्छन् ।
बलिङतर्फ पनि यूएईका आयान अफजल खान, कप्तान मोहम्मद वासिम,अलि नासर र बासिल हमिदले जारी प्रतियोगितामा निकै लय समेतका छन् । जसले नेपालको ब्याटिङ लाइनलाई तहसनहस बनाई दिन सक्छन् ।
यूएईका ब्याट्सम्यान सुरूवात देखि नै आक्रामक रूपमा देखिने गरेका छन् । जसमा नेपाली बलरले केही संयमता अपनाउनु पर्ने छ । नेपालका अविनाश बोहरा, करण केसी र सोमपाल कामीले सुरुवाती ६ ओभरमा बढी नै मिहिनेत गर्नु पर्ने छ । यस्तै ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र गुल्सन झाले बीचमा केही संयमित भएर बलिङ गर्दा अन्तिम फेरि सोमपाल, अविनाश, करण र दीपेन्द्रले थप टोलीलाई सम्हाल्नु पर्ने छ ।
ब्याटिङ तर्फ पनि ओपनर कुशल भुर्तेल र आशिफ शेखले संयमित भएर सुरुवात देखि नै केही आक्रामक सुरुवात गर्नु पर्ने छ । त्यसपछि कोच र कप्तानले अवस्था हेरेर कुशल मल्ल, गुल्सन झा, स्वयम कम्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी पठाउने खेलाडीले स्थिति हेरेर ब्याटिङ गर्नु पर्ने छ । त्यसपछि आउने खेलाडीले पनि अवस्था हेरी ब्याटिङ गर्दा टोली सहजता तिर अगाडि बढ्ने छ । अगाडि ऐरी ब्याटिङमा आएनन् भने उनले फिनिसिङकाे भूमिका निभाउनु पर्ने छ जसले गर्दा टोली सहज तरिकाले यूएई माथि हावी हुन सक्छ ।
सेमिफाइनलमा विजेता टोली उपाधिको लागि भिड्ने छ्न् भने आज पराजित हुने दुई टोली तेस्रो स्थानको लागि खेल्ने छन् । यस प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कपमा स्थान बनाउने छ ।