कैलाली । अमेरिकामा जारी नवौं सस्करणको आईसीसी टी २० विश्वकप क्रिकेट २०२४ मा अपलगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको ऐतिहासिक सानदार जित हात पारेको छ । उसले हालसम्म आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनै पनि खेलमा पराजित गर्न सकेको थिएन् । यो नै उसको न्युजिल्यान्डमाथि पहिलो पटक जित हो ।
१ सय ६० रनको चुनौतिपूण लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५ ओभर २ बलमा ७५ रनमा समेटिन पुग्यो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ तथा म्याट हेनरीले १८ बलमा १२ रन बनाउन बाहेक न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट हात पार्दा फजलहक फारुकीले ३.२ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । यस्तै मोहम्मद नाबीले ४ ओभरमा १६ रन खर्चेर २ हात पारे ।
त्यसअघि गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रनको चुनौतिपूर्ण लक्ष्य खडा गरेको थियो । उसका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको अर्धशतकीय विजयी इनिङ खेले । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४ ओभर ३ बलमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै जितको आधार बनेको थियो ।
यस्तै जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा पेभिलियन फर्किएका थिए ।
न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए ।
समूह सी मा अफगानिस्तान २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगाण्डालाई हराएको थियो । वेष्टइण्डिज १ खेलमा २ अङ्कका साथ दोस्रो स्थानमा छ । युगान्डा २ खेलमा २ अङ्कका साथ तेस्रो स्थानमा छ । पपुवा न्युगिनी चौथो र न्युजिल्यान्ड पुछारमा छन् । तस्बिर आईसीसी


