धनगढी : कैलालीको गोदावरी नगरपालिका अत्तरियाले प्रमाणबिना नै झण्डै २७ लाख रुपैयाँ खर्च गरेको छ ।
नगरपालिकाले २०७९ मा झालुङ्गे पुल तथा जैविक तटबन्धको नाममा ५० हजार रुपैयाँ कार्य सम्पन्न प्रतिवेदन बिना नै खर्च गरेको पाइएको छ । त्यस्तै जिन्सी दाखिला गरेको प्रमाणबिना नै बल्मी सहरी स्वास्थ्य केन्द्रका लागि १ लाख ३८ हजार ९ सय ४० रुपैयाँ खर्च गरेर फर्निचर तथा भाडाकुडा खरिद गरिएको छ । वडा नम्बर ५ मा ३३ हजार ३ सय ३३ रुपैयाँ खर्च गरेर ९ थान मोटर वितरण गरिएको नगरपालिकाको दाबी छ । तर अशोक चन्दको घर नजिक मोटर जडान भएको कुनै प्रमाण भने फेला परेको छैन् ।
त्यस्तै वडा नम्बर १ को विभिन्न स्थानमा सडक ग्राभेल गरेको भन्दै ४ लाख १८ हजार ९ सय २० रुपैयाँ खर्च गरिएको छ । तर चेनेज खुलेको नापी किताब नै पेस नभएको पाइएको छ । नगरपालिकाले गोदावरी नदीमा बेलिब्रिज पुल मर्मतको नाममा २ लाख ९५ हजार ८ सय रुपैयाँ खर्च गरेको छ । तर काम गरेको स्पष्ट विवरण खुल्ने प्रमाण भने फेला परेको छैन् ।
रामजानकी अछामी टोल सुर्योदय जाने सडक कालोपत्रको नाममा ४ लाख ५४ हजार ५ सय रुपैयाँ खर्च गरिएको भए पनि बिल भरपाई भौचर फेला परेको छैन् । त्यस्तै वडा नम्बर ६ को दार्चुले टोल नजिक ह्युमपाइप जडानको नाममा २ लाख ४८ हजार ५ सय ७२ रुपैयाँ खर्च गरेको दाबी गरिएको भए पनि अनुगमन समितिको सिफारिसमा सही भएको छैन् । उल्लेखित खर्च २०८० मा गरिएको हो ।
वडा नम्बर २ र ४ माता गौरीलाई ४ लाख ५५ हजार ६४० रुपैयाँ भुक्तानी गरिएको फेला परेको छ । सो भुक्तानी प्राविधिक प्रतिवेदन र कागजात प्रमाणितबिना गरिएको छ । त्यस्तै वडा नम्बर १० राज बहुउद्देश्यीय फर्मलाई ड्रागन खेतीका लागि बोरिङ जडान गर्न गत वर्ष ५ लाख ९० हजार ८८० रुपैयाँ भुक्तानी गरिएको छ। तर कार्यक्रम कार्यान्वयन भए÷नभएको कुनै प्रमाण पेस गरिएको छैन् ।
यसरी गोदावरी नगरपालिकाले प्रमाण बिना नै २६ लाख ८६ हजार २९४ रुपैयाँ भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ (१०) बमोजिम खर्च लेख्दा खर्चको बिल भरपाईसहित लेखा राख्नु पर्ने व्यवस्था छ । तर गोदावरी नगरपालिकाले सो नियमावली र नियम विपरीत मनलाग्दी रुपमा भुक्तानी गर्दै आएको फेला परेको छ ।


