कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीका विभिन्न ठाउँबाट करिब २ लाख बराबरका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
धनगढीको भन्सार रोड नजिकबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका कबिर ५० हजार ५ सय मूल्य बराबरका चिनी, भाइरल साडी, कुर्थी लगायतका सामानहरू सोमबार साँझ बरामद गरिएको हो ।
यस्तै गोदावरी नगरपालिका वडा नम्बर ३ चौकी डाँडाबाट करिब १५ हजार मूल्य बराबरका प्लास्टिक झिल्ली सोमवार साँझ प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको थियो । यता धनगढी उप–महानगरपालिका २ राष्ट्रिय वाणिज्य बैङ्क नजिकबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका करिब १ लाख २९ हजार मूल्य पर्ने बिडी, साडी, कुर्थी, लेडिज सुट लगायतका सामानहरू समेत मङ्गलवार बिहान प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।