कैलाली । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । बुधवार नेकपा माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको परेको हो ।
कांग्रेस नेतृत्वको प्रदेश सरकारमा माओवादीका सभामुख सहित ११ जना र नेकपा एकीकृत समाजवादीका ४ जना सांसद थिए । अब मुख्यमन्त्री शाहलाई आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।
५२ जना सदस्यीय प्रदेश सभामा बहुमतीय सरकार बनाउन २७ सांसद आवश्यक पर्ने गर्छन् । जसमा कांग्रेसका १८ र उन्मुक्तिका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउन सक्दैनन् । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र १ जना र राप्रपाका १ जना सांसद छन् । यदि उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुने छन् ।
उन्मुक्ति पार्टीले अहिले सम्म नयाँ गठबन्धनमा जाने वा पुरानैमा रहने भन्ने विषयमा कुनै टुङ्गो लगाएको छैन । नागरिक उन्मुक्तिले एमाले-माओवादीको गठबन्धनमा सहभागी हुने निर्णय गर्दा मुख्यमन्त्री शाह स्वतः रूपमा अल्पमतमा पर्ने छन् । तर, अहिले नागरिक, राप्रपा र स्वतन्त्र सांसदलाई मिलाउने प्रयासमा मुख्यमन्त्री शाह लागि परेका छन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी पनि छलफल सुरु भएको दाबी गरेको छ । ‘पुरानै गठबन्धन जोगाउन मुख्यमन्त्री उन्मुक्तिलाई दिन सकिने समझदारी बनेको छ’ नेपाली कांग्रेस स्रोतले बताएको छ ।
तर, नागरिकले कांग्रेससंग सहकार्य नगर्ने निर्णय गरेपछि भने मुख्यमन्त्रीका सबै बाटो बन्द हुने छन् । त्यो अवस्थामा उनले एक महिना अल्पमतमै रहेर विश्वासको मत लिँदासम्मको राजनैतिक समीकरण कुर्न वा त्यो भन्दा अघि नै राजीनामा दिने बाहेकका विकल्प छैनन् ।