काठमाण्डौ : नेकपा एमालेले सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुलाई सरकारबाट आजै फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले कांग्रेसबिच सरकार बनाउने सहमति भए पनि तत्काल राजीनामा नदिने बताएपछि एमालेले सरकार छोड्न मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको हो ।
प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट सहभागी भएका उपप्रधानसहित ८ मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाउने भएको जनाएको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेपनि प्रधानमन्त्री दाहालले राजीनामा नदिने बताएपछि एमालेले मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो । कांग्रेससँग सत्ता साझेदारी गर्न सहमति भएको भन्दै एमालेले प्रधानमन्त्री दाहाललाई आजसम्मको समय दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।
हाल प्रचण्ड नेतृत्व सरकारमा नेकपा एमालेबाट ८ मन्त्री सामेल छन्, जसमा उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।