धनगढी : सुदूरपश्चिम प्रदेशसभाको मङ्गलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको विशेष अधिवेशनको पहिलो बैठक प्रदेश प्रमुखको पत्र सुनाउँदै स्थगित गरिएको छ ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र बैठकमा सुनाउँदै बैठक स्थगित भएको बताएका हुन् । उनका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको हो ।
बजेट अधिवेशन अन्त्य गर्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहँदा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले गत शुक्रबार प्रदेश प्रमुख मियाँलाई विशेष अधिवेशन आह्वान गर्न लिखित अनुरोध गरेका थिए । केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीको सरकार अल्पमतमा परेको छ ।
तत्कालीन आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ गते चालू आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा सार्वजनिक गरेका थिए । एमालेका पाल जेठ २८ गते मात्र आर्थिक मामिलामन्त्री नियुक्त भएका थिए । तर, बजेट पारित हुन नसक्दा सुदूरपश्चिम सरकारले राजस्व उठाउन र खर्च गर्न पाएको छैन् ।
एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेश सभाबाट पारित हुन नसक्दा बजेट होलिडे भएको हो । मन्त्रिपरिषद्को असार ३० गतको बैठकले चालू अधिवेशन सोही दिनदेखि अन्त्य गर्ने निर्णय गर्दै अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
त्यसअघि सभामुख भीमबहादुर भण्डारीले असार २८ गते सर्वदलीय बैठक राखेर बजेटका विषयमा निष्कर्ष निकाल्न प्रयास गरेका थिए । तर, कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले साथ नदिँदा प्रदेश सभाबाट छलफल गराएर बजेट पारित गर्ने ढोका बन्द भएको थियो । त्यसपछि सदन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने विकल्पको बाधक प्रदेश प्रमुख भएको सरकारले जनाएको छ ।