डोटीका वरिष्ठ पत्रकार दीर्घ खत्रीलाई गोदावरी आर्यघाटमा शनिबार अन्तिम संस्कार गरिएको छ। हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएका खत्रीलाई प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिले संस्थाको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको हो।
प्रेस चौतारी सुदूरपश्चिमका इन्चार्ज दिलबहादुर छत्याल, सहइन्चार्ज सुशील ढुंगाना, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुंगाना, कैलाली अध्यक्ष जनक विष्ट, पूर्व महासचिव शिवराज भट्टलगायत नेताहरूले दिवंगत खत्रीको पार्थिव शरीरमा झन्डा ओढाएर अन्तिम सम्मान व्यक्त गरेका थिए।
दिवंगत आत्माको चिरशान्तिकाे कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।
अन्तिम श्रद्धाञ्जली सभामा सुदूरपश्चिम इन्चार्ज छत्याल, सहइन्चार्ज ढुंगाना, कैलाली इन्चार्ज हरि जोशी, डोटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी, महासचिव आचार्य, सचिव खेम ढुङ्गाना, कैलाली अध्यक्ष विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, सुदूरपश्चिम अध्यक्ष भरत शाह, महासचिव भट्ट, महासंघ कैलाली अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल, संस्थापक अध्यक्ष अर्जुन शाह, पूर्व अध्यक्ष योगेश रावललगायत पत्रकार तथा आफन्तहरूको उल्लेख्य उपस्थिति थियो ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महासचिव आचार्यले खत्रीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको भन्दै उहाँको योगदानको स्मरण गरेका थिए।
रेडियो नेपाल दिपायल प्रसारण केन्द्रमा कार्यरत खत्री विगत अढाई दशकदेखि पत्रकारितामा सक्रिय थिए।


