धादिङ । बुधबार बिहान धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ६ जनाले ज्यान गुमाएका छन् । भने, ३५ जना यात्रुको उद्धार गरिएको छ । उद्दार गरेकाहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको जनाएको छ ।
कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका-५, घाटबेँसीमा दुर्घटना भएको थियो । उक्त बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरणले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ भने पनि पहिचान खुलेको छैन ।
त्रिशुली नदीमा बसको छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका जनाइएको छन् ।
सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।