
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चात प्रकाशन गरेको अन्तिम नतिजामा घोडाघोडी नगरपालिका कैलाली जिल्लाकै उत्कृष्ट पालिका भएको छ ।


प्रकाशित अन्तिम नतिजामा घोडाघोडीले विभिन्न सूचक मापन गरी ८३ दशमलव ५० अङ्क प्राप्त गरी जिल्लामा प्रथम भएको हो । घोडाघोडी नगरपालिकाले शासकीय प्रबन्धमा सात दशमलव पाँच, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा आठ दशमलव पाँच, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा सात दशमलव २५, सेवा प्रवाहमा १३ अङ्क पाएको छ ।
त्यसै गरी न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयमा क्रमशः सात, दश दशमलव पाँच, दश, सात र चार दशमलव ७५ अङ्क प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को स्वमूल्याङ्कनमा गौरीगंगा नगरपालिकाले ८२ दशमलव ५० अङ्क प्राप्त गरी दोस्रो भएको छ भने धनगढी उपमहानगरपालिका ८२ अङ्क प्राप्त गरी तेस्रो स्थानमा छ । २६ दशमलव २५ अङ्क प्राप्त गर्दै मोहन्याल गाउँपालिका जिल्लामै सबै भन्दा कम अंक प्राप्त गर्ने पालिका रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा चुरे गाउँपालिकाले ७९ दशमलव ७५, भजनी नगरपालिकाले ७४ दशमलव ५०, जोशीपुर गाउँपालिकाले ७१ दशमलव ५०, जानकी गाउँपालिका ६९ दशमलव ५०, टीकापुर नगरपालिका ६५ दशमलव ७५, बर्दगोरिया गाउँपालिका ६८, लम्कीचुहा नगरपालिका ४३ दशमलव ७५ र मोहन्याल गाउँपालिकाले २६ दशमलव २५ अङ्क पाएको सार्वजनिक नतिजामा उल्लेख छ ।

मन्त्रालयले बिहीबार प्रकाशित गरेको नतिजामा आर्थिक वर्ष २०७९÷०८० मा गाउँपालिका तथा नगरपालिकाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भई अन्तिम नजिता सार्वजनिक गरिएको जनाइएको छ । स्वमूल्याङ्कन कार्यले स्थानीय तहको कार्यप्रकृया र उपलब्धकीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्य स्वमूल्याङ्कनको रहेको जनाइएको छ ।

