महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन बर्दगोरिया गाउँपालिकाका २५ सय बढी किशोरीलाई खोप दिइने भएको छ । यसका लागी पालिकामा रहेका विभिन्न विद्यालय तथा अन्य खोप केन्द्रबाट माघ २२ देखी फागुन २ गते सम्म अभियान सञ्चालन गरिने पालिकाका स्वास्थ्य शाखा प्रमुख मीनबहादुर धामीले जानकारी दिए ।

“विद्यालय जानेहरूको हकमा कक्षा ६ देखी १० सम्मका किशोरीहरूलाई एचपिभी खोप दिने हो । अनि विद्यालय नजानेहरूको हकमा चाहिँ १० वर्ष देखी १४ वर्ष उमेर समूहका किशोरीलाई खोप केन्द्र मार्फत खोप दिन्छौ । अर्को कुरा महिलाहरूमा देखिने क्यान्सर चाहिँ यो दोस्रो हो तर ज्यान जान सक्ने क्यान्सर चाहिँ यो पहिलो हो फेरी । स्तन क्यान्सर भन्दा यो बढी खतरा हुने भएकाले लक्षित सबैले यो खोप लगाउन आवश्यक छ ।” उनले भने ।
यस पटक देशभरको अभियानका रूपमा खोप लगाइने र अर्को वर्ष देखी फागुन महिनामा नियमित खोप लगाउने गरी गाउँपालिकाले तयारी थालेको छ । अर्को वर्षबाट कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई मात्र खोप लगाइने र खोप कार्ड अनिवार्य गर्ने जनाइएको छ । यस पटक छुटेकाहरूले अर्को वर्ष सो खोप नपाउने भएकाले यस पटक कोही कतै नछुट्न नछुटाउन समेत गाउँपालिकाले आग्रह गरेको छ ।
यो अभियानबाट पालिकाका वडा नम्बर १ का ९ सय २९ जना, पालिकाका वडा नम्बर २ का ३ सय २२ जना, पालिकाका वडा नम्बर ३ का ३ सय ४० जना, पालिकाका वडा नम्बर ४ का ३ सय ४३ जना, पालिकाका वडा नम्बर ५ का ३ सय जना र पालिकाका वडा नम्बर ६ का ३ सय ५२ जना गरी २ हजार ५ सय ८५ जना किशोरीहरू एचपिभी खोपबाट लाभान्वित हुनेछन् ।



