सुखड: आईतबार राति भारतमा सम्पन्न १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ काे उपाधि कोलकाता नाइट राइडर्सले हात पारेको छ । फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पाखा लगाउँदै कोलकाता च्याम्पियन बनेको हो ।

यो संस्करणको उपाधि हात पारेसँगै कोलकाताले तेस्रो पटक उपाधि चुमेको हो । उसले यसअघि सन् २०१२ र २०१४ मा उपाधि हात पारेको थियो । यता सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनल प्रवेश गर्दै पराजित भयो ।
हैदरावादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले १०.३ ओभरमा मात्रै २ विकेट गुमाएर पूरा गर्यो । उसले ओपनर सुनिल नारायणलाई दोस्रो ओभरमा गुमाए पनि त्यसपछि रहमानुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गर्दै उपाधि तर्फ अगाडि बढाएका थिए । नारायण दोस्रो ओभरमा ६ रन जोड्दै कप्तान प्याट कमिन्सकाे बलमा क्याच आउट भएका थिए ।
गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा अविजित रहँदा कप्तान श्रेयस ऐर ६ रनमा अविजित रहँदै उपाधि चुम्न सफल रहे ।
बलिङ तर्फ हैदरावादका लागि कप्तान प्याट कमिन्स र शाहबाज अहमदले १/१ विकेट हात पारे ।
त्यस अघि चेन्नाईमा टस जितेर पहिलो ब्याटिङ रोजेको हैदरावाद १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रनमा समेटिन पुग्यो । उसका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गरेनन् ।

कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा पेभिलियन फर्किए । नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए ।

हैदरावादलाई सस्तैमा समेट्न सुरुवाती चरणमै मिचेल स्टार्कले कसिलो बलिङ गर्दै पावर प्ले मै दुई विकेट हात पारे । त्यसपछि कोलकाता पूर्ण रूपमा खेलमा हावी भइसकेको थियो । सुरुवाती दबाबमा परेको हैदरावादकाे विकेट पतन रोकिएन । यता कोलकाताको बलर पूर्ण रूपमा हावी भइसकेका थिए । कोलकाताका लागि आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले समान २ विकेट हात पार्दा वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १/१ विकेट हात पारे ।
यता फाईनलमा पराजित हैदरावादले आईपीएल फाइनलको इतिहासमै सबैभन्दा कमजोर प्रदर्शन गरेको छ । हाल सम्म त्यति थोरै रनमा फाइनलमा कुनै पनि टोली समेटिएका थिएनन् । सन् २०१७ मा मुम्बइले १ सय २९ रन बनाएको थियो तर त्यसमा उसले एक रनको सनसनीपूर्ण जित हात पार्दै उपाधि चुमेको थियो ।
त्यो भन्दा कम रनमा हाल सम्म कुनै पनि टोली समेटिएको थिएनन् । आईतबार राति सम्पन्न खेलमा खराब प्रदर्शनको रेकर्ड समेत हैदरावादले आफ्नो नाममा गर्यो ।
आईपीएल क्रिकेट २०२४ मा निकै उत्कृष्ट प्रदर्शनका कीर्तिमान आफ्नो नाममा गरेको हैदालरवादले अन्ततः फाइनलमा सबैभन्दा कमजोर प्रदर्शनकाे कीर्तिमान समेत आफ्नो नाममा गर्यो ।

