कैलालीको बर्दगोरिया गाउँपालिकाका दश वटा सामुदायिक विद्यालयलाई सिद्धार्थ बैङ्कले फिल्टर सहयोग गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उद्देश्यले गाउँपालिका मार्फत सोमबार बायोस्याण्ड फिल्टर हस्तान्तरण गरेको हो ।
विद्यालयलाई फिल्टर हस्तान्तरण गर्दै पालिका अध्यक्ष कर्णबहादुर कुँवरले बैङ्कको सामाजिक उत्तरदायित्व प्रति धन्यवाद व्यक्त गरे । “गाउँ/ठाउँ बनाउने कुरामा पालिकाले विभिन्न सरोकारवालाहरू सँग सहकार्य गरिरहेको छ । यसरी सहयोगी हातहरू मिल्यो भने त काम गर्न सहज हुन्छ नि । शुद्ध खानेपानीका लागि पालिकामा ठुलो आयोजना कार्यान्वयनमा छ तर पनि हामीले विद्यालयको तत्कालको आवश्यकतालाई मध्यनजर गरि यस पटक फिल्टर बाँड्ने भनेर सल्लाह गर्यौ । आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा छ ।” अध्यक्ष कुँवरले भने ।
आफूहरूले वार्षिक रूपमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र यस वर्ष स्थानीय सरकार सँग समन्वय गरि पानी फिल्टर सहयोग गरेको बैङ्कले जनाएको छ । बैङ्कको सहयोगले दश विद्यालयका विद्यार्थीहरूले आर्सेनिकयुक्त पानी खानु पर्ने बाध्यता केही हद सम्म कम हुनेछ । विद्यार्थी चापका आधारमा सरकार तथा सरोकारवालाहरूले फिल्टर वितरणको आवश्यकता रहेको विद्यालयहरूको भनाई छ ।