संस्थागत विद्यालय घोडाघोडी नगर कमिटीको आयोजनामा प्रश्न पत्र तथा उत्तर कुञ्जीका निर्माणका लागि शनिवार कैलालीको पहलमानपुरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित प्रश्न पत्र निर्माण गर्ने उद्देश्यले यस क्षेत्रमा पहिलो पटक तालिम सञ्चालन भएको आयोजकले जनाएको छ ।

पाठ्यक्रममा आधारित नभई बनाइएका प्रश्न पत्रले नतिजा राम्रो नआउने, बिद्यार्थीहरु अलमलमा पर्ने लगायतका समस्या समाधान गर्न यो तालिम सञ्चालन गरिएको संस्थागत विद्यालय घोडाघोडी नगर कमिटी अध्यक्ष रबी आचार्यले बताए । “उहाँहरूलाई प्रश्न पत्र बनाउन नआउने भन्ने होइन, लामो समय देखि उहाँहरूले यो काम गर्दै आउनु भएको छ तर ठ्याक्कै पाठ्यक्रम विकास केन्द्रको मापदण्डलाई आधार बनाउने अभ्यास भने त्यति छैन । त्यसैले विकास केन्द्रको मापदण्ड अनुसार नै प्रश्न पत्र निर्माण गरौँ र पाठ्यक्रमको विशिष्टीकरण तालिकालाई आत्मसात् गरौँ भन्ने हो ।” उनले भने । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर शिक्षा समितिका सदस्य कुलप्रसाद भट्टले खस्कँदो शिक्षाको अवस्था सुधार गर्न यो तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । पाठ्यक्रम अनुसार प्रश्न पत्र निर्माण नगरिँदा बिद्यार्थीहरु अन्योलमा पर्ने र त्यसको असर नतिजामा पर्ने भएकाले पनि शिक्षाका विभिन्न पाटाहरूलाई विकसित गर्दै जानू पर्ने उनको भनाई छ । तालिममा २० संस्थागत विद्यालयका शिक्षक/शिक्षिकाहरू सहभागी भएका छन् ।
कार्यक्रमका केही तस्वीरहरु


