
कैलाली : आजबाट श्रीलङ्कामा सुरु भएको एसीसी महिला एसिया कपमा नेपालले ऐतिहासिक जित हात पारेको छ । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ प्रदर्शन गरिन ।


शुक्रबार भएको उद्धघाटन खेलमा यूएईमाथि ६ विकेटको जित दर्ता गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेट गुमाउँद पूरा गर्यो ।
नेपालकी ओपनर सम्झना खड्काले ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । करिअरको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा अविजित रहिन् ।

नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् । रुविना १० रन जोडेर पेभेलियन फर्कीइन् ।

त्यसअघि नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।

उसका लागि मध्यक्रमकी ब्याटर खुशी शर्माले ३६ रन जोडिन् । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरिन् । कविशा एगोदागेले २२ रनको योगदान दिइन् । ओपनर इशा ओजा १० रन जोड्दै दोस्रो ओभरमा रनआउट भएपछि यूएई केही दबाबमा थियो ।

तिर्था सतिशलाई ९ र रिनिथा रजिथ ६ रनमा आउट भएपनि यूएईको रन गति रोकिएन । १० ओभरमा ५७–४ को स्थितिमा रहेको यूएईले इनिङको अन्त्यतिर भने चाहेजस्तो रन जोड्न सकेन ।
नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १–१ विकेट हात पारिन् । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए ।
नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा भारतसँग खेल्नेछन् । आज साँझ समूहको अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । प्रतियोगिताको सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।
एसिया कपमा नेपालको इतिहासः
यसअघि सन् २०१२ र २०१६ मा दुई पटक सहभागिता जनाएको नेपालले यसअघिका सबै ८ खेलमा हार बेहोरेको थियो । नेपालले एसिया कपको नवौं खेलमा पुगेर पहिलो जित दर्ता गर्न सफल रह्यो ।