सुखड । नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशन कैलालीको सुखडमा जारी छ । फागुन ६ गते पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । ६ गते सुरु भएको अधिवेशन हाल सम्म पनि जारी छ । सहमतिमा नेतृत्व चयन गर्न नसकेको एमाले निर्वाचनमा होमियो ।
उद्घाटन सत्रमा बोल्दै ओलीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । यदि सहमति हुन नसकेको खण्डमा निर्वाचन गर्नै परे एक/दुई दिनमा निर्वाचन गरी नेतृत्व चयन गर्न ओलीको निर्देशन थियो। । तर लामो रस्सा कस्सीका बिच अन्ततः निर्वाचनमा गएको थियो।। बिहीबार बिहान देखि निर्वाचन प्रक्रिया अगाडि बढाउने भने पनि त्यो सफल हुन सकेन । त्यसपछि शुक्रबार बिहान देखि मतदान सुरु भएको थियो । हाल सम्म पदाधिकारीको नजिता सार्वजनिक भए पनि सदस्यहरूको मत परिणाम भने आइसकेको छैन ।
तिन प्यानल सहित निर्वाचनमै होमिएको एमालेमा गुट बन्दी निकै चल्यो । केन्द्रीय नेताहरूको तीव्र प्रभाव कैलालीमा पनि पर्यो । जहाँ लीला भण्डारी, लेखराज भट्ट र कर्ण थापाले आआफ्नो गुट खडा गरे ।
केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज रहेका लेखराज भट्टको प्यानलबाट अध्यक्ष पदमा चुनावी मैदानमा होमिएका कार्यवाहक अध्यक्ष दुर्गा जोशी नराम्रोसँग पराजित हुन पुगे । ५ सय ७७ मत खसेकोमा उनले जम्मा ६३ मत मात्रै प्राप्त गरे । उनी मात्रै हैन उनको टिमबाट कुनै पनि पदाधिकारी विजयी हुन सकेनन् ।
यसरी हेर्दा सुदूरपश्चिममा भट्ट निकै कमजोर रहेको आँकलन गर्न सकिन्छ ।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य नारदमुनी राना, केन्द्रीय सदस्य झपट रावल सहितको समर्थनमा आठौँ जिल्ला अधिवेशनबाट सचिव भएका डेजी पाण्डेले नवौँ अधिवेशनमा अध्यक्षको दाबेदार हुँदै चुनावी मैदानमा होमिए । तर उनी पनि पराजित हुन् पुगे । उनको टिमबाट उपाध्यक्ष र सचिव पदका उम्मेदवार भने निर्वाचित भए ।
उनको टिमबाट सचिवमा ममता प्रसाद चौधरी र उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही विजयी भए ।
यस्तै एमाले पोलिट ब्युरो सदस्य लीला भण्डारी र पूर्व प्रदेश अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य दामोदर भण्डारी लगायतको समर्थनमा मैदान उत्रिएका यज्ञराज ढुङ्गाना विजयी भए। सचिव र उपाध्यक्ष बाहेक बहुमत पदाधिकारी उनको टिम बाटै विजयी भएका छन्।
झपटको दाबी तुहियो
भरखरै गुट परिवर्तन गरेका केन्द्रीय सदस्य झपट रावलले आफूहरूको समर्थन रहेका डेजी पाण्डे जसरी पनि जित्ने दाबी सहित मतगणना स्थल पुगेका थिए। उनले पाण्डे जित हुने मात्रै बताएनन् सार्वजनिक रूपमै २८१ मत सहित पाण्डे विजयी हुने अठोट गरेका थिए । पाण्डे नेतृत्वको टिममा सक्रिय रहेका रावल शुक्रबार रातिसम्म पनि मतगणना स्थलमै थिए । राति करिब १ बजेबाट सुरु भएको थियो। त्यो समयसम्म रावल स्थलमै थिए। स्थलमा रहेका सञ्चारकर्मीहरू सँग रावलले सङ्ख्या नै तोकेर कम्तीमा २८१ मत सहित पाण्डे चुनाव जित्ने दाबी गरे । तर जब १ सय मतको परिणाम आयो त्यसपछि भने रावल मतदान स्थलबाटै भागे। पहिलो १ सय मतको परिणाम मै ढुङ्गानाले पाण्डेलाई २६ मतले लिड गरेका थिए। रावल भने त्यसपछि सुखडमै देखिएनन्।
ढुङ्गाना २८७ मतका साथ विजयी हुँदा पाण्डे २१८ मतमै सीमित हुन पुगे ।