
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् ।


प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त दलका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि भोलि साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएका थिए । सत्तासमीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा परेका थिए । उनी १ सय ५ दिनसम्म मुख्यमन्त्री पदमा रहेका थिए ।

पछिल्लो चुनावपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले हालसम्म तीन मुख्यमन्त्री फेरबदल भएका छन् । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरु भएको छ ।

सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित हुन सकेको छैन । बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन तथा खर्च गर्ने लगायतका गतिविधि ठप्प छ ।

