घर घरमा शुद्ध खानेपानी पुर्याउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा कैलालीको बर्दगोरिया गाउँपालिकामा ७० करोडको आयोजना सञ्चालनमा छ । आयोजना अन्तर्गत आगामी ३ वर्ष भित्र पालिकाका सबै घरधुरीमा खानेपानी पुर्याउने गरि काम भइरहेको खानेपानी तथा सरसफाइ इकाई (एम/वास) युनिट प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।
“अध्ययन, व्यवस्थापन र कार्यालय स्थापना लगायतको काममा समय लाग्यो । अब कार्यान्वयनको गति बढ्छ । पाइपलाइन बिस्तार र बोरिङ निर्माणका लागि टेन्डर खोलिसकेका छौ । वडा नम्बर २ र ५ मा ट्याङ्की निर्माण गर्नु पर्ने र बाँकी पाइपलाइन बिस्तार गर्नु पर्नेछ ।” उनले भने । उनका अनुसार तत्काल वडा नम्बर ३ मा भूमिगत ट्याङ्क निर्माण, वडा नम्बर १ बौनिया बजारमा सार्वजनिक शौचालय निर्माण र पालिकाका ६ वटै वडामा पाइपलाइन बिस्तारको काम हुने छ भने खाने पानीका विभिन्न तालिमहरू समेत सञ्चालन गरिने छन् ।
प्रदेश सरकारको १५ प्रतिशत, स्थानीय सरकारको ७ प्रतिशत र बाँकी सङ्घीय सरकारको लागत साझेदारीमा आयोजना कार्यान्वयनमा आएको हो । बर्दगोरिया गाउँपालिका सँगै जानकी र जोशीपुर गाउँपालिकामा समेत खानेपानी आयोजनाको काम अघि बढेको छ ।
प्रकाशित :- २०८१ श्रावण ११, गते शुक्रबार