
धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना प्रहरीको फन्दामा परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको छ । चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक रहेका छन् ।
चर्चमा हरेक शनिवार संगति लाग्ने गरेको छ । असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ । छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले जानकारी पाएका थिए । लेट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि ४ कठ्ठा जग्गा लिजमा लिएको थियो ।

१५ वर्षपछि भवन भण्डारीकै हुने सर्तमा जग्गा लिजमा लिइएको थियो । तर, लेट मेइनले करोडौं लगानी गरेर भवन निर्माण गरी मासिक १५ हजार भाडा लिने गरी चर्चलाई भवन प्रयोग गर्न दिएको छ । मेइनले छालाको अस्पताल नभएर सौन्दर्य सम्बन्धी क्लिनिक खोल्न भवन बनाएको र अहिले धनगढी मण्डलीलाई भवन प्रयोग गर्ने समझदारी भएको पास्टर राईको दाबी छ ।

सोलुखुम्बु जिल्ला घर बताउने चर्चका पास्टर राईले वडा कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर चर्च चलाएको बताएका छन् । मङ्गलवार स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चर्चको अनुगमन गरेका थिए । सो टोलीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारीसमेत थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारीले छानबिन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका थिए ।


