
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ ।


२०७५ साउन १० गते साथीको घर जान्छु भन हिँडेकी पन्त उतैबाट बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट निर्मलाको शव घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा फेला परेको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट समेत आयो, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरेका थिए । भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटेका थिए । यसरी अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए सङ्कलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ । तर, अहिलेसम्म दोषी भने पत्ता लाग्न सकेको छैन ।

यस सम्बन्धमा अहिले पनि सूक्ष्म ढङ्गले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



