प्रहरीले देशका विभिन्न स्थानहरुबाट लागूऔषधसहित १८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लमजुङको बेसीशहर नगरपालिका–७ भुपु सैनिक स्कुल नजिकबाट नियन्त्रित लागुऔषध ट्रमाडोल ३ सय ५३ क्याप्सुल र नगद ३५ हजार ४ सय ३० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो पक्राउ गर्यो । पक्राउ पर्नेहरूमा बेसीशहर नगरपालिका–७ सातबिसेका २७ वर्षीय उमेश गुरुङ र मर्स्याङदी गाउँपालिका–८ सिमलचौरका २६ वर्षीय खोम बहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको जनाएको छ ।

आइतबार दिउँसो नै मोरङको विराटनगर महानगरपालिका–१७ मटेर्वा चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा विराटनगर महानगरपालिका–११ पिचराका ३७ वर्षीय राजेन्द्र पोख्रेल र सोही महानगरपालिका–१० तीनटोलियाका ४२ वर्षीय कुशल थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ३०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–१६ हुलास चोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका–६ गछीयाका ३२ वर्षीय युवराज खड्कालाई पनि आइतबार दिउँसो नै प्रहरीले पक्राउ गरेको थियो । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुल नजिकबाट नियन्त्रित लागुऔषध ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित ३ जनालाई पनि आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय मौसम लिम्बु, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठ रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले को.३४ प ३३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको जनाएको छ । साथै थप सोधपुछको क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगपालिका–९ डेरा गरी बस्ने सिराहा घर भएका २३ वर्षीय अंकित कुमार सिंहको कोठाबाट नियन्त्रित लागुऔषध ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २६ ट्याब्लेट फेला पारी अंकित, धरान उपमहानगरपालिका–८ बस्ने २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, धरान उपमहानगपालिका–३ स्थित लालीगुराँस होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई गत राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ बगरकोटका २४ वर्षीय रवि भन्ने राम श्रेष्ठ र सोही उपमहानगरपालिका–१६ गणेशमानचोकका २२ वर्षीया मेलिना राई रहेका छन् । वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित फुलजोर–डोमखोरिया सडकखण्डको जंगल एरियाबाट अवैध लागुऔषध गाँजा करिब २ किलोग्राम सहित २ जनालाई गत बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रहम्पुरी गाउँपालिका–५ का २२ वर्षीय अविनाश कापर र २७ वर्षीय विक्रम कापर रहेका छन् । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिनजोर घारिबथानबाट खटिएको प्रहरीले बिआर ३० एजी ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाहीकै बरहथवा नगरपालिका–१६ गंगापुरबाट अवैध लागुऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरीहरपुर गढी गाउँपालिका–८ पांचतलेका २९ वर्षीय वाङ दोर्जे थिङ र हरीवन नगरपालिका–४ तीनघरेका ३० वर्षीय सागर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीले बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागुऔषध डाईजेपाम १ हजार २ सय एम्पुल, फेनारगन १ हजार १ सय ८५ एम्पुल र नुर्फिन १ हजार १ सय ९५ एम्पुल सहित सोही महानगरपालिका–२५ का २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।