सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा पाँच सय बढि फरार प्रतिवादी पक्राउ गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आइतबार गरेको पत्रकार सम्मेलनमार्फत मंसिर महिनामा गरेको कार्य प्रगति सार्वजनिक गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले मंसिरमा विभिन्न कसुरसँग सम्बन्धित पाँच सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार चालुतर्फका मुद्दामा २१४ प्रतिवादी पक्राउ गरिएको छ। सार्वजनिक चासोका २ हजार ५३८ मुद्दामध्ये ११४ मुद्दा फछ्र्यौट गरिएको छ । फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका पाँच सय २४ जना फरार प्रतिवादीबाट एक करोड ६१ लाख ९९ हजार २९१ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
मंसिरमा प्रदेशमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी २८ मुद्दा दर्ता भएका छन् । घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्रबाट टुंग्याइएका छन् भने ८ उजुरी अदालत पठाइएको छ।
यस्तै ८११ वटा ठाडो उजुरीमध्ये ७५७ उजुरी फछ्र्यौट गरिएको छ । प्रदेशभर मंसिर महिनामा ३१ वटा आत्महत्याका घटना भएका छन् । हराएका १५५ जनामध्ये ९० जनालाई खोजेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रणतर्फ १ किलो २३९ ग्राम गाँजा, २७ किलो ५८१ ग्राम चरेश र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । यस सम्बन्धमा ५६ मुद्दा दर्ता गरी २ महिला र ८६ पुरुष गरी ८८ जनालाई पक्राउ गरिएको छ ।
सामुदायिक सुरक्षातर्फ प्रदेशभर १ हजार १२२ पटक विभिन्न समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
ट्राफिक व्यवस्थापनतर्फ १३० सवारी दुर्घटनामा १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। ट्राफिक कारबाहीमा ३ हजार २८० सवारी साधन परेका छन्, जसबाट रु। २६ लाख २४ हजार ५ सय राजस्व संकलन भएको छ ।
यसैगरी अवैध रूपमा भन्सार छलि ल्याइएका अन्दाजी रु। ९६ लाख ४४ हजार ५ सय बराबरका सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै गत भदौ २४ मा भएको आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी मध्ये ३६५ जना बन्दी कारागार नफर्केको डीआईजी रानाले बताए ।
कारागारबाट भागेका मध्ये ६५ जना भारतीय कैदी रहेका छन् । फरार रहेका मध्ये धेरैजसो कैदीबन्दी भारत भागेको प्रहरीको अनुमान छ ।
डीआईजी रानाले आगामी दिनमा पनि शान्ति–सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री सेवामा प्रदेश प्रहरी अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले लागुऔषध नियन्त्रणका लागि सबैसँग सहकार्य गर्ने जानकारी दिए । यस्तै आफूहरु फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा दिन तयार रहेको उपनि उनको भनाइ छ ।
सो कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी उपरीक्षक, नायव उपरीक्षक, निरीक्षकहरू, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश तथा जिल्ला समितिका पदाधिकारीहरू र विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।




