
काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन तेस्रो साता सार्वजनिक गर्ने भएको छ । वार्षिक कार्यतालिका अनुसार नै नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।


बोर्डले अहिले उत्तरपुस्तिका परीक्षणको कार्य सकेर पुनः परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सुरु गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार प्राविधिक कठिनाइ नआएमा वार्षिक कार्यतालिका अनुसार साउनको तेस्रो साता नै नतिजा सार्वजनिक हुने छ । परीक्षा गत बैशाख १४ शुक्रबार देखि २४ गते सोमबार सम्म सञ्चालन गरिएको थियो । परीक्षामा ५ हजार ५ सय ४२ विद्यालयका ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए ।
कक्षा १२ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अध्यक्ष शर्माले बताए । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी अनुत्तीर्ण हुने बताईएको छ ।




