कञ्चनपुर । सोनाहा जातिको मुख्य पेसा भनेको नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो। तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन्।
पछिल्लो समय पुख्र्यौली पेसा सङ्कटमा परेपछि बर्दियाबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका १२ र १३ मा बसोबास गर्दै आएका उनीहरूकोे आर्थिक अवस्था अझै दयनीय हुँदै गइरहेको छ।
हिउँदका बेला महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर छाक टार्दै आएका उनीहरु वर्षाका बेला भने गाउँ बस्तीमा ज्याला मजदुरी गरेर जीविकपार्जन गर्छन्। वडा नम्बर १२ ओदालीमा बस्दै आएका रमेश सोनाहाले लामो समयदेखि परिवारको गुजारा चलाउन महाकाली नदीको बगरमा गिट्टी कुट्नेदेखि गाउँमा मजदुरी, ट्र्याक्टरमा मजदुरी र स्कुलको होस्टेलमा भाँडा सफा गर्ने सम्मका काम गर्दै आएको बताएका छन् ।
रमेशले स्थानीय सरकार बनेपछि पनि आफ्नो समुदायलाई उपेक्षा गरिएको दुखेसो पोखेका छन् । त्यस्तै प्रकाश सोनाहाले पहुँचका आधारमा स्थानीय सरकारले जनतालाई सेवा दिँदै आएको आरोप समेत लगाउन भ्याए । प्रकाशले स्थानीय सरकारले दुई कोठे घर बनाई दिने आशा टुटेको समेत बताएका हुन ।
यस्तै सविता सोनाहाले महाकाली नदीमा गिट्टी र बालुवाको भरले छाक टार्नु परेको गुनासो पोखिन् । उनले दलित बालबालिकालाई राज्यले दिने सुविधा सोनाहा जातिका बालबालिकालाई पनि दिनुपर्नेमा जोड दिइन् ।
वडा नम्बर १२ की कार्यालय सचिब राधा भट्टले गत वर्ष तीन सोनाहा परिवारलाई वडा कार्यालयबाट जीविकोपार्जन कार्यक्रम अन्तर्गत बङ्गुर उपलब्ध गराएको बताइन्। उनले चालु आर्थिक वर्षमा उक्त जातिको जीविकोपार्जनकै लागि बाख्रा पालनका लागि ५० हजार बजेट विनियोजन गरिएको समेत जानकारी गराइन् ।