
नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा रिक्त रहेको ठाउँमा कसलाई पठाउने भन्ने कुराको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।


आर्थिक लेनदेन सम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्कणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो ।
बैठकमा सहभागी टिकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल थारु डगौराले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको जानकारी दिए । उनकाअनुसार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रतिनिधिसभा सबै सांसद, प्रदेश सभाका लक्ष्मणकिशोर चौधरी बाहेकका सांसदको सहभागीता रहेको थियो ।

बैठकले सरकारमा सहभागी कांग्रेस र एमालेका नेताहरुले आफ्नो दललाई सम्मानजनक व्यवहार नगरेको कुरा समेत उठेको चौधरी बताउँछन् । दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधी आफू अनुकुल बनाएर आर्थिक लाभ लिन सकिने योजना बनाएको अडियो सार्वजनिक भएपछि वनमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।


