
कैलालीको बर्दगोरिया गाउँपालिकामा होली पर्वको अवसरमा सातौँ राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागुन २८ गते देखी प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत बिहीबार जानकारी दिइएको छ ।


प्रतियोगितामा करिब १८ टिमको सहभागिता हुने अनुमान गरिएको क्लबका अध्यक्ष गोविन्द बुढा क्षेत्रीले जानकारी दिए । यस प्रतियोगिताका विजेताले नगद १ लाख ३ हजार १ सय ५१ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उपविजेताले नगद ४७ हजार १ सय ५१ र तृतीयले नगद ३१ हजार १ सय ५१ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । फागुन २८ गतेबाट सुरु हुने प्रतियोगिता चैत्र २ गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ । २०७५ सालबाट निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबको यो सातौँ संस्करण हो । यस क्षेत्रमा निकै चर्चामा रहने यो प्रतियोगितामा विभागीय देखी विभिन्न क्लबहरूले सहभागिता जनाउँदै आएका छन् ।
यस्तै क्लबले बिहीबार नै विभिन्न उप समिति समेत गठन गरेको छ । खेल व्यवस्थापन उप समितिका संयोजक शिवराज भण्डारी, प्रचार प्रसार संयोजकमा विजय जोशी, अतिथि सत्कार संयोजक पवित्रा कुमारी साउँद, आर्थिक उप समिति संयोजकमा गणेश विश्वकर्मा र स्वयंसेवक संयोजकमा नरेन्द्र थापालाई चयन गरिएको छ ।




