काठमाण्डौ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरिसकेका छन् ।

सत्ता साझेदार दलका नेताहरूसँगको छलफल पश्चात् मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा एमालेबाट सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
गत ०७९ पुसमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।



