
कैलालीमा विद्युत् चोरेर जङ्गली जनावरलाई धराप थाप्ने एक जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ गणेशपुरका मनीराम चौधरीलाई अनुसन्धानका क्रममा मङ्गलवार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।
गत माघ ९ गते राती २ बजे सिकार गर्न गएका घोडाघोडी नगरपालिका वडा नम्बर–१० का ४० वर्षीय धनबहादुर शाहको धरापमा परि ज्यान गएको थियो । उनी सँगै गएका मोहन्याल गाउँपालिका–३ का ३६ वर्षीय दुर्गा खत्री घाइते छन् । “हामीले ९ गतेको घटनाको अनुसन्धान गर्दै जाँदा त्यो घटनामा यिनको पनि संलग्नता देखियो । यिनले सितलपुरबाट नाङ्गो तार लगेर जङ्गली जनावरलाई धराप थाप्ने गरेका रहेछन् । त्यही धरापमा परी धनबहादुर शाहका ज्यान गएको हो भन्ने अनुसन्धानले देखाए पछि हामीले पक्राउ गरी मुद्दा चलाएका छौ ।” इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले भने । प्रहरीका अनुसार घटनामा थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित :- २०८० माघ १७, गते बुधबार