भजनी : कैलालीको भजनीमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्य भएको छ ।

भजनी नगरपालिका–३ धुसीका चन्द्रबहादुर पाण्डेको छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती बालकले घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
बालकलाई करेन्ट लागेपछि उनलाई बचाउन खोज्दा सोही ठाँउ बस्ने १८ वर्षीय पारश ठगुन्नालाई समेत करेन्ट लागेर घाईते भएका छन् । घाईते ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


