वीरगञ्ज : वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरी सहितको अनुगमन टोलीले छापा मारेको छ । प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिकल प्रयोग गरिरहेको सूचनाको आधारमा छापा मारेको जनाएको छ।

नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले छापा मारेको पर्सा प्रहरीले जनाएको छ । छापाका क्रममा प्रयोगशालाबाट म्याद नाघेका केमिकल बरामद भएपछि मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज हुसेनलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।
ढुङ्गेलका अनुसार ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकलसहितका औषधि बरामद भएपछि कलेजका एमडी अन्सारीलाई नियन्त्रणमा लिइएको हो । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापा मारेको पर्साका प्रहरी प्रमुख ढुङ्गेलले बताए ।
उनका अनुसार बरामद सबै केमिकलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त रुपमा छापा मारेको थियो ।



