आजदेखि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र आयरल्यान्ड उल्भसबीचको दुई खेलको टी२० सिरिज हुँदैछ । खेल पहिलो खेल आज दिउँसो १ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । दोस्रो खेल भोलि हुनेछ ।
नेपाल हाल एसीसी प्रिमियर कप र आईसीसी टी२० विश्वकपको तिव्र तयारीमा रहेको छ । एसिया कप छनोटका लागि महत्वपूर्ण प्रतियोगिता प्रिमियर कप सुरु हुन ३ साताभन्दा कम समय बाँकी रहँदा नेपालले उक्त टोलीसँग टी२० सिरिज खेल्न लागेको हो ।
नेपालको टोलीमा कप्तान रोहित कुमार पौडेलसँगै विकेट किपर आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलसनकुमार झा, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी रहेका छन् । त्यसै गरि करण केसी, प्रतिश जिसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव पनि टोलीमा समावेश छन् ।
नेपालभन्दा बलियो टोली आयरल्याण्डको ए टोली पनि निकै मजबुत रहेको छ । १५ सदस्यीय आइरिस टोलीका कप्तान निल रकले सिनियर टोलीका लागि तीन एकदिवसीय र १९ टी २० खेल खेली सकेका छन् । आयरल्याण्डका लागि २१ टी २० र ६४ एकदिवसीय खेलेका ग्यारेथ डेलानी पनि टोलीमा छन् । टोलीमा रहेका लगभग हरेक खेलाडीसँग सिनियर टोलीबाट खेलेको अनुभव समेत रहेको छ ।
उल्भसले नेपालको सिनियर टोलीसँगको सिरिजपछि नेपाल ए सँग ३ खेलको टी २० र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । यसै सिरिजका लागि यस अघि नै क्यानले विनोद भण्डारीको कप्तानीमा दुई फरक टोली घोषणा गरेको छ ।