कैलालीको घोडाघोडी जेसिज शाखाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी जेसिज वर्ष २०२३ का अध्यक्ष भरत भट्टराईले नयाँ वर्ष २०२४ का अध्यक्ष दीपक बहादुर चन्दलाई पद हस्तान्तरण गरेका हुन । पद हस्तान्तरण पश्चात् अध्यक्ष सहित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।पुस १३ गते शुक्रवार शाखाको दोस्रो अधिवेशनले दीपक बहादुर चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको थियो । जसको कार्यकारिणी उपाध्यक्षमा लक्ष्मण न्युरे र धन बहादुर बडूवाल निर्वाचित भएका थिए । यसै गरी उपाध्यक्षमा कपिल सापकोटा, जानकी शाह, पवित्रा शाही र कलक बहादुर सिंह निर्विरोध निर्वाचित भएका थिए । शनिवार भएको पद हस्तान्तरण कार्यक्रममा महासचिवमा गोपाल प्रसाद चापागाईँ, कोषाध्यक्षमा पदम सापकोटा,सचिवमा वीरेन्द्र शाह र कानुनी सल्लाहकारमा भूपेन्द्र विक्रम कुँवर मनोनीत भएका छन् ।
वर्ष २०२३ का अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए। कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । यस्तै जेसिजले विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो । कार्यक्रमको सञ्चालन २०२३ महासचिव कपिल सापकोटा र २०२४ महासचिव गोपाल प्रसाद चापागाईँले गरेका थिए ।