गायक रवि ओड विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पक्राउ पुर्जी दिएको हो।
उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले प्रक्रिया अघि बढाएको थियो। ओडकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी विरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधवार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए।
उनी काठमाडौँमा रहेको सूचना पाए लगत्तै कञ्चनपुर प्रहरीले काठमाडौँ प्रहरीलाई समेत पक्राउ गरेर पठाइदिन पत्राचार गरिसकेको छ। नेपाल आइडल सिजन–२ का लागि कैलालीको धनगढी अडिसनबाट निर्णायकको मन जितेका उनले आम संगितप्रेमीको मन जित्दै विजेता समेत बनेका थिए।