कैलाली : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ । जसबाट १८ करोड बराबरको कारोबार गरेको छ ।
नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्री वितरण गरेको हो ।
उक्त पुस्तक बिक्री वितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिएका छन् । कुँवरका अनुसार केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार १ सय ८५ थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य लिएको छ। प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।
उनले भने, “सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। केही छुटेका ठाउँमा पनि शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुर्याउँछौँ । हामीसँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ। बाँकी पाठ्यपुस्तक शैक्षिक सत्र अगावै पुग्छ।”
केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको थियो । भने, सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री वितरण गर्दै आएकामा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए।
चालु शैक्षिक सत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ ।