कैलाली : कैलालीको कैलारी गाउँपालिकामा किसानलाई पावर टिलर दिने भन्दै किसानलाई नै ठग्ने पक्राउ परेका तीन सहकारीका अध्यक्षहरू रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपालका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी मङ्गलवार पक्राउ परेका थिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार थुना मुक्त गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा उनीहरूका विरुद्धमा ठगीको उजुरी नपरेपछि छोडिएको जनाइएको छ । जिल्ला प्रशासनमा पीडितहरूले उजुरी दिने बताएपछि प्रहरीमा उजुरी नपरेको कैलाली प्रहरीले बताएको छ ।
किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेका उनीहरूको विरुद्धमा ठगी मुद्दा चलाउन सकिने भएपनि उजुरी नपरेपछि समस्या भएको हो । तर यता माओवादी केन्द्रको लेटर प्याडमा भने उजुरी आएको थियो । तर, कैलाली प्रहरीले पीडितहरूबाट उजुरी आउनु पर्ने बताएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो । अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको थियो ।
कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाँड्ने भन्दै कालीमाई, अखुवा र बाल सशक्तीकरण सहकारी संस्थाले किसानबाट रकम उठाएका थिए । कैलारीका विभिन्न वडाका किसानबाट जनही ६६ हजार २ सय ५० देखि १ लाख २५ हजारसम्म रकम असुल गरिएको थियो । बाल सशक्तीकरण नेपालले मात्रै १ सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा सङ्कलन गरेको छ ।
रसिद तथा बैँक भौचर केही पनि प्रमाण नदिएर सहकारीहरूले रकम असुलेको पीडित किसानहरूले बताएका छन् । सहकारीहरूले विभिन्न एजेन्सीको हावाला दिएर अनुदानमा पावर टिलर दिने भन्दै रकम असुलेका हुन् । असार सकिन लाग्दा समेत पावर टिलर उपलब्ध नगराएपछि किसानहरू ठगिको विषय बाहिरिएको छ । पीडितहरू कैलारी गाउँपालिकाको न्यायिक समितिमा गएका थिए ।



