सुर्खेतमा हात हतियार सहित विद्यालय प्रवेश गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चौकुने गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय छवि साउँद रहेका छन् ।
उनले गत भदौ ३१ गते चौकुने गाउँपालिका वडा नम्बर १ स्थित सुदर्शन प्राथमिक विद्यालय बडाशैनमा ज्यान मार्ने धम्की दिँदै हतियार सहित प्रवेश गरेका थिए । विद्यालयकी प्रधानाध्यापक हिरादेवी भण्डारीलाई दुर्व्यवहार गरेको भिडियो समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा भण्डारीले हतियार नियन्त्रणमा लिएकी छन् । साउँदले हतियार खोस्दै दुर्व्यवहार गरेको देख्न सकिन्छ ।
भएको के थियो ?
भदौ ३१ गते गाउँपालिका अन्तर्गत शिक्षा शाखाको आयोजनामा सोही विद्यालयमा कार्यक्रम चलिरहेको थियो । शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाका अनुसार विद्यालयमा यसै पनि कर्मचारी कम छन् । भएका कर्मचारीहरू कार्यक्रम व्यवस्थापनमा व्यस्त भए ।
सोही विद्यालयमा छवि साउँदका भान्जा पनि अध्ययन गर्छन् । त्यो दिन उनका भान्जा बिरामी परेका थिए । सबै जना कार्यक्रममा व्यस्त भएकाले कसैलाई बिरामी बारे जानकारी भएन । यो कुरा थाहा पाएपछि विद्यालय पुगेका साउँदले बच्चाको ख्याल नगरेको भन्दै प्रधानाध्यापक भण्डारी सँग विवाद पनि गरे । तर पछि कुरा मिल्यो र उनी घर हिँडे ।
घर हिँडेको केही समय पछि उनी हतियार सहित पुनः विद्यालय प्रवेश गरे । प्रधानाध्यापकलाई काट्ने मार्ने भन्दै विद्यालय छिरेका उनले आक्रमणको प्रयास समेत गरे । तर सबैको सहयोगले अप्रिय घटना भने घटेन र माहौल शान्त भयो । घटना ३१ गते भए पनि बिहीबार (आज) मात्रै प्रहरीमा निवेदन परेको छ ।
आक्रमणको प्रयास गर्ने साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । “हामीले हिजो नै पक्राउ गरेका हौ । पीडितको निवेदनका आधारमा उनलाई अभद्र व्यवहारमा मुद्दा दर्ता भई कारबाही प्रक्रिया अघि बढेको छ ।” उनले भने ।