निर्भीक पोष्ट/२४ भदौ कैलाली ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बालकन्या माध्यमिक विद्यालयको जग्गा खोज्न थालिएको छ । विद्यालय स्थापना कालमा करिब १० बिघा क्षेत्रफल विद्यालयको स्वामित्वमा भए पनि अहिले भने जग्गा अभावमा साँघुरो ठाउँमा विद्यालय सञ्चालन गरिएको छ ।
स्थानीयका अनुसार साबिकको दोदोधरा गाउँ विकास समितिबाट बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को कट्टीपुर खल्लामा १० बिघा सार्वजनिक जग्गा विद्यालयले भोग चलन गर्न पाउने भनी निर्णय गरिएको थियो । तर हाल उक्त स्थानलाई काँडा नदीको कटानले छेद विच्छेद पारेको छ । आधाआधी जग्गा बालुवामा परिणत भएको छ ।
वि.सं. २०४६ सालमा सोही ठाउँमा विद्यालय स्थापना गरिएको थियो तर नदीको जोखिम भए पछि बिच गाउँमा स्थानान्तर गरिएको थियो । लामो समय देखी विद्यालयको जग्गाको अवस्था थाहा नभएकाले खोजी सुरु गरिएको विद्यालयका प्रधानाध्यापक भूमि प्रसाद जैशीले बताए । “कतिपय जग्गा अतिक्रमित भएको र कतिपय बालुवामा परिणत भएको अनुमान गरेका छौ । जे होस विद्यालयको जग्गा कहाँ कुन हालतमा छ भनेर खोजी सुरु गरेका छौ । यसका लागी सबैको सहयोगमा सिमाङ्कनको काम पनि सँगै अघि बढाउने योजना छ ।” उनले भने ।