कैलाली : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए ।
सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री रहेका छन् । चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमि सुधार मन्त्री हुन् ।
दलका नेता घनश्याम चौधरीका अनुसार दुवै जना दलको निर्णयविरुद्ध सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने बताए ।
दलका नेता चौधरीले मन्त्रीलाई पठाएको पत्रमा लेखिएको छ, ‘मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतको पक्षमा मतदान नगर्न निर्देशन (ह्वीप) जारी गरिएकोमा सोको उल्लंघन गरी फ्लोर क्रस गरिएकोले हालको सुदूरपश्चिम प्रदेश सरकारबाट माननीयज्युलाई समर्थन फिर्ता लिन अनुरोध गर्दछु ।’


